भोजपुर | षडानन्द नगरपालिकाको आयोजनामा सम्पन्न "षडानन्द मेयर कप अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता" को उपाधि आयोजक षडानन्द नगरपालिकाले हात पार्न सफल भएको छ। समापन खेलमा षडानन्द नगरपालिकाले प्रतिस्पर्धी पाँचखपन नगरपालिकालाई रोमाञ्चक भिडन्तमा ३-१ सेटको अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।
फाइनल खेलमा पाँचखपन नगरपालिकाले पहिलो सेट २५–२० को स्कोरमा जित हात पारेको थियो। तर, त्यसपछि षडानन्दले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेटहरु २५–१७, २६–२४, र २५–२० को नतिजामा जित दर्ता गर्दै समग्र खेलमा ३–१ को विजय हासिल गरेको हो।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न छ वटा पालिकाहरूले सहभागिता जनाएका थिए। ती पालिकाहरूमा आयोजक षडानन्द नगरपालिका, साल्पासिलिंछो गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिका, सभापोखरी गाउँपालिका, र पाँचखपन नगरपालिका रहेका थिए। प्रतियोगिता अन्तर पालिका तहमा आयोजना गरिएकोले स्थानीयस्तरका खेलाडीबीच आपसी मित्रता, खेलकुद विकास र प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको थियो।
विजेता बनेको षडानन्द नगरपालिकालाई नगद १ लाख ७५ हजार, एक शानदार ट्रफी र पदक प्रदान गरिएको छ। उपविजेता पाँचखपन नगरपालिकालाई नगद १ लाख, ट्रफी र पदक प्रदान गरिएको थियो। त्यस्तै सेमिफाइनलमा पराजित भएका आमचोक गाउँपालिका र सभापोखरी गाउँपालिका दुबै टोलिले जनही ३० हजार नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताका क्रममा विभिन्न व्यक्तिगत प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीहरू पनि घोषित गरिएका थिए। समग्र प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी (Most Valuable Player - MVP) को रूपमा षडानन्द नगरपालिकाका धनबहादुर भट्ट छनोट भए, जसले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
अन्य उत्कृष्ट खेलाडीहरूमा षडानन्द नगरपालिका उत्कृष्ट सर्भर विष्णु वस्नेत ,उत्कृष्ट लिब्रो ब्रिटिस राई, उत्कृष्ट मिडल ब्लकर चिरण खडका र पाँचखपन नगरपालिका उत्कृष्ट सेटर मनोज घिमिरे , उत्कृष्ट स्पाइकर रोमन वस्नेत भए । यी उत्कृष्ट खेलाडीहरूले जनही रु ३,००० नगद पुरस्कार प्राप्त गरे। फाइनल खेलमा उल्लेखनीय प्रदर्शन गरेका षडानन्द नगरपालिकाका चिरण खडका फाइनलको उत्कृष्ट खेलाडी समेत घोषित भए।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक नगरपालिकाले सहभागी टिमहरू, रेफ्री, खेलप्रेमी दर्शकहरू र स्वयंसेवकप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता समेत जनाएको छ।
यस किसिमका प्रतियोगिताले ग्रामीण तथा स्थानीय तहका खेलाडीहरूलाई उर्जा, प्रेरणा र पहिचान दिनुका साथै राष्ट्रिय स्तरसम्म पुर्याउन टेवा पुग्ने विश्वास गरिएको छ।


