इटहरी।  संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ स्थित बरुण नदीमा तीन वर्षअघि सुरु भएको ६० मिटर लामो पक्की पुलको निर्माण अझै अधुरै छ । पुलको ढलान गर्न बाँकी हुँदा बरुण नदी वारपार गर्न स्थानीयवासीले ठूलो सास्ती भोग्नुपरेको छ । पुल ठड्याउने काम सकिएको भएपनि निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा ढलानको काम रोकिएको हो । हिउँदमा बरुण नदीमा ह्युमपाइप राखेर साना सवारी साधन चलाइए पनि वर्षात्को समयमा नदीमा आएको बाढीले पाइप बगाउने गरेको छ । २०७८ चैत २ मा उत्तर–दक्षिण कोशी सडक योजनामार्फत सुरु गरिएको पुल निर्माणको ठेक्का हिन्दुङ एण्ड थोकर(विवस(एसए एस कम्पनीले लिएको हो । गत वर्षको चैतमा निर्माणको पहिलो म्याद सकिँदा दुवैतर्फका चर मात्रै उठाइएको थियो । पुनः म्याद थपेर असार मसान्तसम्मका लागि दिएको समय पनि अन्तिम चरणमा पुगेको छ, तर निर्माण कम्पनी सम्पर्कविहीन बनेको गाउँपालिका अध्यक्ष भोटेको भनाइ छ । बरुण नदी पारिको हटियामा किराना पसल चलाउने भोटखोला– ३ हटियाका छेरुक लामा भन्नुहुन्छ, “सामान ढुवानी गर्न गाह्रो हुन्छ, नुन तेलको मूल्य बढ्छ, भरियामार्फत सामान ल्याउनुपर्ने अवस्था आउँछ । उँहाका अनुसार खाँदबारीदेखि गोला बजारसम्म ८२ किलोमिटर सडकमा गाडी गुड्छ, तर त्यसपछिको दूरी पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । कोशी प्रदेशका पूर्वमन्त्री संखुवासभा ९क० क्षेत्रका माननीय राजेन्द्र कार्कीले सडकको ट्रयाक राम्रै भए पनि पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको बताउनुभयो । पुल निर्माणका लागि १६ करोड रुपियाँ खर्च हुने अनुमान छ । उत्तर–दक्षिण कोशी सडक योजनाका सूचना अधिकारी नरेश जिरेलका अनुसार फाउन्डेसन र स्टिल संरचना तयार भइसकेको छ, बाँकी काम २०८२ को असारभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ । यसअघि उत्तर–दक्षिण कोशी सडक योजनाअन्तर्गत भोटखोला क्षेत्रमा ११ वटा पुल निर्माण भइसकेका छन् । खाँदबारीदेखि भोटखोलासम्म १६२ किलोमिटरको ट्रयाकमध्ये १५९ किलोमिटर सडक खुलिसकेको भए पनि एउटा अधुरो पुलकै कारण यस क्षेत्रको यातायात सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।