इटहरी | किशोरीहरुको सौन्दर्य, आत्मविश्वास र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको 'मिस एसईई इटहरी' प्रतियोगिताको पाँचौं संस्करण अन्तर्गतको ट्यालेन्ट राउन्ड मंगलबार सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिका अन्तर्गत सुनसरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त चरणमा सहभागी प्रतिस्पर्धीहरूले आफ्नो विविध प्रतिभा प्रस्तुत गरी दर्शक तथा निर्णायकहरूको मन जित्न प्रयास गरेका थिए।
प्रतियोगिता ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको हो, जसले युवतीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न समेत सहयोग पुर्याउने विश्वास गरिएको छ। ट्यालेन्ट राउन्डमा प्रतियोगितामा सहभागिता जनाएका २६ जना फाइनलिस्टले आ–आफ्नो प्रतिभा नृत्य, गीत, कविता वाचन, नाट्य अभिनय, चित्रकला, वक्तृत्वकला लगायतका विधामा प्रस्तुत गरे। यस कार्यक्रमको सञ्चालन शुभेक्षा कार्कीले आकर्षक शैलीमा गरेकी थिइन्।
कार्यक्रमका निर्णायकहरूमा आकाश इन्स्टिच्युटका सीईओ गोपाल निरौला, ओपन स्पेस प्रालिकी सीईओ सजिना श्रेष्ठ, चर्चित नृत्य निर्देशक निकिशा कठायत र सामाजिक अभियन्ता निराजन पाण्डे रहेका थिए। उनीहरूले प्रतिभा मूल्यांकन गर्दै प्रतिस्पर्धीहरूको प्रस्तुतिमा प्रोत्साहन तथा मार्गदर्शन दिएका थिए।
प्रतियोगिताको फाइनल कार्यक्रम यही जेठको अन्तिम शनिबार, अर्थात् जेठ ३१ गते इटहरीको लायन्स क्लबमा साँझ ६ बजेदेखि हुने प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठले जानकारी दिए। फाइनलमा प्रतिस्पर्धीहरू विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट प्रस्तुतिका साथ उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले प्लस टु तहसम्मको पूरै छात्रवृत्तिसहित विभिन्न उप-उपाधि (sub-titles) र पुरस्कार प्राप्त गर्नेछन्।
यसपटक उपाधिका लागि २६ जना किशोरीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। सुजना श्रेष्ठ, श्रेयांशी भट्टराई, अमिका घिमिरे, पवित्रा कुँवर, रक्षा मोचि, प्रीति थापा, समीक्षा कार्की, पुष्पाञ्जलि श्रेष्ठ, अर्पणा राउत, कृतिका सुवेदी, स्नेहा कटवाल, बेदिका भुजेल, रितिका खड्का, रचना मगर, रोस्मी राई, आयुषा बराल, आयुषा राउत, रेश्मा विष्ट, संस्कृति दाहाल, रेनेशा प्रधान, अदिति गुरागाईं, इप्सिता रेग्मी, युना राई र पेरिशा शंकर उपाधिको दौडमा छन्। उनीहरूलाई फेशन तथा प्रस्तुति पक्षमा कोरियोग्राफर शुभेक्षा कार्कीले प्रशिक्षण दिइरहेकी छन्।
कार्यक्रममा विभिन्न संघसंस्थाको सहकार्य पनि उल्लेखनीय रहेको छ। सहयोगी संस्थाहरूमा आकाश इन्स्टिच्युट र यार्सागुम्बा रहेका छन् भने मिडिया पार्टनरको रूपमा परीकला न्यूजले साथ दिएको छ। साथै श्रृङ्गार सहयोगीका रूपमा एसबी मेकअप एण्ड नेल स्टुडियो, फोटोग्राफी तथा भिडियोग्राफी पार्टनर निश्चल ग्यालरी, डिजाइनिङ पार्टनर वि प्रोडक्सन र ड्रेस डिजाइनको जिम्मा निधि बुटिकले लिएको छ।
इटहरी उपमहानगरपालिका यस प्रतियोगिताको संयोजन साझेदारको रूपमा रहँदै आएको छ भने शैक्षिक साझेदारका रूपमा सुष्मा गोदावरी कलेज रहेको छ। आयोजक संस्था ओपन स्पेस प्रालिका अनुसार यस्तो खालका कार्यक्रमहरू युवतीहरूलाई आत्मविश्वासी, प्रस्तुतिपरक र नेतृत्वदायी बनाउन सहयोग पुर्याउने माध्यम बन्ने विश्वास गरिएको छ।
प्रतियोगिताको फाइनल कार्यक्रम दर्शकहरूसमक्ष खुला रहनेछ र यो अवसरमा सांगीतिक प्रस्तुति, सम्मान कार्यक्रम र अन्य विविध आकर्षणहरू पनि समावेश गरिने जानकारी आयोजकले दिएको छ।