इटहरी । नेपाली काँग्रेसको भातृ संघ नेपाल उराँउ संघ दुहबी नगर समितिको अधिवेशन सम्पन्न भएको छ । मंगलबार साह सेवा समितिको भवनमा प्रमुख अतिथि महासमिति सदस्य एवम नगर सभापति वेद नारायण गच्छादारले बि पी कोइरालाको तस्बिरमा माल्यार्पण र दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन  गर्नुभएको थियो । अधिवेशनबाट नेपाल उराँउ संघ  दुहबी  नगर समितिको सभापतिमा किरण कुमारी  उराउ सर्वसम्मत चयन हुनुभएको छ । उहाँसँगै ११ सदस्यीय नगरकार्य समिति चयन भएका छन् ।  उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गच्छादारले लोकतन्तको बिकल्पमा राजतन्त्र हुनै नसक्ने जिकिर गर्दै हाल नेपालमा तथाकथित राजाबादीहरुले चलाएको आन्दोलनको कुनै तुक नरहेको बताउनुभयो । हालको संविधानमा केहि त्रुटि भए सच्याउदै जानु पर्ने तर दलिय ब्यावस्थामा रैति मानसिकता प्रति ध्यान जानु दासताको खोजि गर्नु जस्तै भएको उहाँले बताउनुभयो । गणतन्त्रमा सबै जातजातीले आफ्ना अधिकार सरकारसँग वार्ता गरेरै स्थापित गराउन सकिने तर राजतन्त्रमा यस्तो हुनै नसक्ने भन्दै नेपाल उराउ संघले यस्ता भ्रामक कुराको खन्डन गर्नुपर्ने उहाँको भनाइ थियो । सबै जातजाती, भाषा, धर्म र संस्कृतिको समान प्रतिनिधित्व लोकतन्त्रको सुन्दर उपाहार रहेको जनाउदै राज्यको मुलधारका राजनिति र निति निर्माण तहमा समान प्रतिनिधित्व गराउने एक मात्रै दल नेपाली काँग्रेस रहेको बताउनुभयो । नयाँ बन्ने उराँउ संघ दुहबीको कार्य समितिलाइ सुभकामना दिदै आफु नगर सभापति भएको हैसियतले  दुहबीका भातृ संघहरुलाई चलायमान र शसक्त बनाउदै लैजाने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।