इटहरी । षडानन्द मेयर कप अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक षडानन्द नगरपालिकाले जितेको छ । षडानन्द नगरपालिकाले संखुवासभाको पाँचखपन नगरपालिकालाई ३–१ को सेटमा २०–२५,२५–१७, २६–२४ र २५–२० ले पराजित गर्दै उपाधिमा कव्जा गरेका हो । जेष्ठ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशि प्रदेशका आयोजक षडानन्द नगरपालिकासँगै साल्पासिलिंछो, अरुण, आमचोक, सभापोखरी र पाँचखपन गरि ६ वटा पालिकाले सहभागिता जनाएको थियो । प्रतियोगितामा प्रथम हुने षडानन्द नगरपालिकाले नगद रु १ लाख ७५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै दित्तीय हुने पाँचखपन नगरपालिकाले नगद १ लाख ट्रफी र मेडल प्राप्त गर्दा सेमिफाईनलिष्ट आमचोक गाउँपालिका र सभापोखरी गाँउपालिकाले नगद ३०–३० हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा षडानन्दका धन वहादुर भट्ट उत्कृष्ट खेलाडी बन्नुभएको थियो । उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा षडानन्द नगरपालिकाबाटै उत्कृष्ट सर्भर विष्णु वस्नेत, उत्कृष्ट लिब्रो ब्रिटिस राई, उत्कृष्ट मिडल ब्लकर चिरण खडका र पाँचखपन नगरपालिका उत्कृष्ट सेटर मनोज घिमिरे, उत्कृष्ट स्पाइकर रोमन वस्नेत चुनिनु भयो । उत्कृष्ट खेलाडीहरूलाई जनही तीन हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता अन्तर पालिका तहमा आयोजना गरिएकोले स्थानीयस्तरका खेलाडीबीच आपसी मित्रता, खेलकुद विकास र प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको नगरपालिका नगर प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिनुभयो ।


