इटहरी | १९औं छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समिति, सुनसरीको आयोजनामा एक भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इटहरीस्थित वाइ.डी.सी. (YDC) हलमा आयोजित गरिएको थियो।

उक्त कार्यक्रममा अध्यक्षता पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष  सुन्दरमणि राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टी पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सइन्चार्ज क. केशवकुमार विष्टको गरिमामय उपस्थिति रहेको थियो। कोशी प्रदेश कमिटीका सचिव जलसेर राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा स्वागत मन्तव्य पार्टी सुनसरीका उपाध्यक्ष रेवति रोमन राईले दिनुभयो। नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका सुनसरी जिल्ला अध्यक्ष राजकुमार गजमेर, नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्य तथा नेकपा (एस) कोशी प्रदेश सदस्य. तारा लामगादे, नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सचिव तथा नेकपा (एस) इटहरी नगर संयोजक गौरिमान परियार ,कोशी प्रदेश कमिटीका सचिव जलसेर राईल लगायतका वक्ताहरूले आफ्नो सान्दर्भिक विचार तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

पार्टीले दलित समुदायको सवालमा गम्भीर प्रतिबद्धता जनाउँदै कुनै कञ्जोसी नगरी पूर्णरूपमा सहयोग गर्ने पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष  सुन्दरमणि राईले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि. केशवकुमार विष्टले दलित समुदायमाथि विद्यमान जातीय विभेद र छुवाछूतलाई राज्यको पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, दलित दिवसको अवसरमा सार्वजनिक बिदासहितको सम्मान दिनुपर्ने माग राख्नुभयो। उहाँले दलित समुदायले भोग्नुपरेका ऐतिहासिक पीडा र वर्तमान चुनौतिहरूबारे पनि गहिरो टिप्पणी गर्नुभयो।

कार्यक्रमको सञ्चालन जिल्ला उपसचिव कमल आचार्यले गर्नुभएको थियो। यस महत्वपूर्ण कार्यक्रमलाई सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने कोशी प्रदेश कमिटी, आयोजक समिति, नगर, वडा तथा विभिन्न संगठनका नेता तथा कार्यकर्ताहरूलाई आयोजक समितिले धन्यवाद व्यक्त गरेका थिए ।