इटहरी । कोशी टप्पुवन्यजन्तु आरक्षले सप्तकोसीमा डल्फिनको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । आज वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेको छ । यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीन वटा थप डल्फिनको सङ्ख्या बढेको पाइएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार हालको गणनामा १५ वयस्क, पाँच अर्धवयस्क र दुई बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ । यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षले प्रत्येक वर्ष नियमित रूपमा डल्फिनको गणना गरेर संरक्षणका लागि आवश्यक कदम उठाउँदै आएको छ। गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, श्री भिमकाली गुल्म तथा हिमाली प्रकृति संस्था लगायतले प्राविधिक सहयोग प्रदान गरेका थिए ।
सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ र २०२४ मा समानरूपमा १९ डल्फिनको गणना गरेको थियो । आरक्षले डल्फिनको संरक्षण र यसको प्राकृतिक आवासको रक्षा गर्न निरन्तर प्रयास गर्ने जानकारी दिएको छ ।

