इटहरी । वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा खाँदबारीस्थित टुँडिखेलमा आज नेपाली सेनाको इन्द्र दल गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र अग्नि नियन्त्रक टोलीले अभ्यास गरेको हो । अभ्यासमा पहिरो गएको परिप्रेक्ष्यमा उद्धार, घाइतेको प्राथमिक उपचार, विस्थापितको व्यवस्थापन तथा राहत सामग्री वितरण प्रक्रिया समेटिएको थियो । अभ्यासले सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय, सञ्चार र द्रुत प्रतिकार क्षमतामा सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि, विपद् व्यवस्थापन अझै पनि तीनै तहका सरकारको प्राथमिकतामा नपरेकाले स्थानीयस्तरमा आवश्यक स्रोतसाधन अभावका कारण विपद्का बबेला उद्धारमा कठिनाइ हुने जनाइएको छ ।