इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई मोबाइल एप निर्माण सम्बन्धी कार्यशाला आयोजना गरेको छ । क्याम्पसमा अध्ययनरत विआईसिटिइ सङ्काय अन्तर्गतका विद्यार्थीहरूलाई लक्षित गरी फ्ल्युटर कार्यशाला आयोजना गरिएको हो । विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको क्याम्पसले जनाएको छ । गत ज्येष्ठ १८ गते देखी सुरु भएको कार्यशाला ७ दिन सम्म सञ्चालन हुनेछ । कार्यशालामा ३० जना विद्यार्थीहरूले मोबाइल एप निर्माण सम्बन्धी ज्ञान लिइरहेका छन् । कार्यशालामा विद्यार्थीहरूलाई फ्ल्युटरको आधारभूत संरचना, प्रोग्रामिङ भाषा, युआई डिजाइन, एप डेप्लोपमेन्ट लगायतका विविध पक्षमा सैद्धान्तिक र व्यवहारिक सिप सिकाइने जनता बहुमुखी क्याम्पसका विआईसिटिइ विभाग प्रमुख मन्दिप भट्टराईले जानकारी दिनुभएको छ । क्याम्पसले अत्याधुनिक प्रविधिमा आधारित कार्यशाला मार्फत विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरको सीप सिकाउने र उनीहरूलाई व्यवहारिक रूपमा प्रतिस्पर्धात्मक बनाउने लक्ष्य लिएको विभाग प्रमुख भट्टराईको भनाई छ । विआईसिटिइ विभाग प्रमुख भट्टराईका अनुसार, यस्ता कार्यशालाले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभएर भविष्य निर्माणका लागि आवश्यक व्यावसायिक दक्षता पनि प्रदान गर्छ । आगामी दिनमा एआई र मेसिन लर्निङ्ग केन्द्रित थप कार्यशालाहरूको आयोजना गर्ने योजना रहेको जानकारी दिनुभएको छ । त्यस्तै, क्याम्पस प्रमुख डा. गीता अधिकारीले कार्यशाला विद्यार्थीहरूलाई आफ्नै एप बनाउने क्षमता विकास गर्दै भविष्य उज्यालो बनाउने दिशामा महत्त्वपूर्ण कदम हुने बताउनुभयो । फ्ल्युटर गुगल द्वारा विकसित एउटा खुला स्रोत मोबाइल एप विकास फ्रेम वर्क हो । यसको प्रयोगबाट एउटै कोड प्रयोग गरेर एनड्रोएड र आइओएस दुवैका लागि एप बनाउने सुविधा उपलब्ध हुन्छ । जनता बहुमुखी क्याम्पसले पछिल्लो तीन वर्ष देखी सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विआईसिटिइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।


