इटहरी । ५२ औं विश्व वातावरण दिवसका अवसरमा “प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व” भन्ने मूल नाराका साथ इटहरी उपमहानगरपालिका–२० मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षणको महत्त्व उजागर गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्थानीय प्रतिनिधि देखि विभिन्न संघसंस्था, प्रहरी प्रशासन र युवा सम्मको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता इटहरी उपमहानगरपालिका–२० का वडाध्यक्ष मणि राम श्रेष्ठले गर्नुभयो । उहाँको नेतृत्वमा मुख्य कोशी राजमार्गको डिभाइडर क्षेत्रमा सौन्दर्यकरण र हरियाली प्रवद्र्धनका लागि १ सय थान बगनबेली फूलका बिरुवाहरू रोपिएका थिए । वृक्षारोपण मात्र नभई कार्यक्रमले प्लास्टिकजन्य फोहोरबाट हुने पर्यावरणीय संकटप्रति स्थानीय समुदायलाई सचेत गराउँदै स्थायी समाधानका उपायहरूमा सहभागिता बढाउने संदेश दिएको इटहरी वडा नम्बर २० का वडा सदस्य तनुज गुरूङ (सुरेश)ले जानकारी दिनुभयो । कार्यक्रमको अन्त्यमा वडाध्यक्ष मणि राम श्रेष्ठले सहभागी सबै निकाय, व्यक्तित्व, संघसंस्था र स्वयंसेवक प्रति विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी वातावरणीय गतिविधिहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष  दिवस पोखरेल, वातावरण शाखाका प्रमुख  पुष्प चौधरी, वडा नं. २० का राष्ट्रिय पार्टी सभापतिहरू, विभिन्न सामाजिक संस्था तथा संघसंस्थाका अध्यक्षहरू, तरहरा प्रहरी चौकीका प्रमुख टीका नेपाल तथा उहाँको टोली, बाल सञ्जाल, स्मार्ट किशोरी समूह लगायतको सक्रिय सहभागिता रहेको थियो ।