काठमाडौं / नेपाल चलचित्र निर्माता संघले डिजिटल सिनेमा नेपालसँगको लामो छलफल र संवादपछि अन्ततः VPC शुल्क घटाउने सहमति गरेको छ। श्रावण १ गतेदेखि लागू हुनेगरी, निर्माताहरूले हालसम्म तिर्दै आएको VPC शुल्कको करिब २५% कम शुल्क तिर्नुपर्ने भएको छ। साथै, अन्तर्राष्ट्रिय प्रदर्शनका लागि तोकिएको प्याकेज शुल्कमा पनि ३०,००० रुपैयाँको छुट दिने सहमति भएको छ।
यस सहमतिमा, नवल खड्का अध्यक्ष रहेको निर्माता संघले ५०-५०% शेयर बाडफाँट, ३ मिनेट ३० सेकेण्डसम्मको निःशुल्क ट्रेलर सेवा लगायतका बुँदामा पनि सम्झौता गरेको छ। अहिले निर्माताहरूले यी सुविधाहरूको लाभ लिइरहेका छन्।
चलचित्र विधेयकलाई चलचित्र उद्योगमैत्री बनाउन, स्वायत्त बोर्डको रूपमा अघि बढाउने विषयमा पनि चलचित्र निर्माता संघले प्रयास जारी राखेको जनाएको छ। यसै सन्दर्भमा संघले चलचित्रसम्बद्ध अन्य संघसंस्थाहरूसँग सहकार्य गर्दै अघि बढिरहेको जनाएको छ। कार्यक्रममा अशोक शर्मा र उदय सुब्बालगायत संघका कार्यसमिति सदस्यहरूको पनि उपस्थिति रहेको थियो।