इटहरी । ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए । उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताए। विगतमा महँगोमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजान सक्नेहरूले उपचार पाउने र नसक्नेहरूले उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको थियो ।