इटहरी । घरभित्र अवैध भरुवा बन्दुक भेटिएपछि प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट २ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ । केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको हो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले राति १०ः३० बजेतिर श्रेष्ठको घरमा छापा हानेको थियो । घर खानतलासी गर्ने क्रममा घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बन्दुक फेला परेसँगै प्रहरीले धनबहादुरका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई पक्राउ गरेको हो । बरामद भएको बन्दुकसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको हो । उनीहरुविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । बरामद भएको बन्दुक वन्यजन्तुको अवैध चोरी सिकारीमा प्रयोग गर्ने गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


