इटहरी । इटहरी वडा नं। १ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । विद्यालयका कप्तान, भाइस कप्तान र हाउस कप्तानसहित १२ पदका लागि भएको निर्वाचनमा ३९ जना विद्यार्थी उम्मेदवार बनेका थिए। कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि आयोजना गरिएको निर्वाचनमा करिब ८० प्रतिशत, अर्थात् ६४२ मत खसेको थियो। चारवटा मतदान केन्द्रमा विद्यार्थीले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृत युवराज काफ्लेका अनुसार कप्तान पदमा छात्रतर्फ चार र छात्रातर्फ दुई उम्मेदवार थिए भने सहायक कप्तानमा छात्राछात्रा दुबै तर्फ तीन–तीन जना उम्मेदवार थिए। हाउस कप्तान पदमा ग्रिन, रेड, ब्लु र यल्लो गरी चार घर समूहबाट छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो। ग्रिनमा १४८, रेडमा १८८, बुलुमा १७१ र यल्लोमा १३५ मत खसेको थियो  । 

प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार विद्यार्थीलाई निर्वाचन प्रक्रिया र नेतृत्व अभ्यास गराउन यो कार्यक्रम आयोजना गरिएको हो। उम्मेदवारी घोषणा, मनोनयन, प्रचार, मौन अवधि र मतदान प्रक्रियासहित सबै चरणहरू पालना गरिएको विद्यालयले जनाएको छ। मतदान बिहान १० देखि दिउँसो २ बजेसम्म चलेको थियो भने अन्तिम नतिजा शुक्रबार साँझ सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले जानकारी दिए।