इटहरी । धनकुटाको हिल स्थित श्री नं. २ बाहिनी अड्डा हिले ब्यारेकमा सञ्चालित १२ औँ सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । नं. २ बाहिनी अड्डा हिलेमा २०८१ भाद्रबाट सुरु भएको सि.सं. १२ सैन्य आधार तालिम बिहीबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नं. २ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी दिलविक्रम सुब्बाले तालिमका शिक्षार्थी सैन्य द्वारा प्रदर्शन भएको अन्तिम दलेल कवाजको निरीक्षण पश्चात् नवनियुक्त सिपाहीहरूलाई लामो अवधिको आधारभूत तालिम सफलता पूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै देशको जिम्मेवारी काँधमा आएको बताउनु भयो। उहाँले दीक्षित २ सय ९८ जना नवनियुक्त तालिमे सिपाहीहरूलाई नेपाली सेनाको विभिन्न युनिटहरूमा रिक्त रहेको सिपाही दर्जामा नियुक्त भई राष्ट्र, संस्था र जनता प्रति समर्पित, बफादार, इमान्दार, अनुशासित रूपमा नेपाली सेनाको मूल्यमान्यता र परम्परालाई आत्मसाथ गरी जस्तोसुकै विषम परिस्थितिमा समेत विचलित नभई सुम्पिएको जिम्मेवारी बहन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । दीक्षान्त समारोहमा सैन्य परेड, झन्डा सलामी, कवाज निरीक्षण, सैन्य कवाज प्रदर्शन र सैन्य सुशोभन लगायतको कार्यक्रम गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सिपाहीहरूलाई पुरस्कृत समेत गरिएको थियो । नौ महिने अवधिको आधारभूत तालिम पूरा गरेका यी सिपाहीहरू अब नयाँ नियुक्ति लिएर विभिन्न युनिटहरूमा खटिने श्री नं. २ वाहिनी अड्डा हिलेले जनाएको छ। कार्यक्रममा वाहिनी अन्तर्गतका अधिकृतहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, दीक्षित सिपाहीहरूको परिवारजन तथा आफन्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


