इटहरी । धनकुटामा सञ्चालनमा रहेका होटलहरुबाट अखाद्यवस्तु तथा पेयपदार्थ जफत गरि नष्ट गरिएको छ। होटल अनुगमनका क्रममा बिहिवार करिब एक दर्जन होटलमा भेटिएको अखाद्यवस्तु तथा पेयपदार्थ जफत गरि नष्ट गरिएको हो। कोशी राजमार्ग स्थित भेडेटार–धनकुटा सडकखण्डमा पर्ने होटलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा होटलबाट म्याद गुज्रिएका स्प्राईट, फेन्टा, ड्यू र कोकाकोला लगायतका पेयपदार्थ भेटिएको थियो। यस्तै बिस्कुट लगायतका गरि जम्मा ४ हजार ७ सय रुपैयाँ बराबरका म्याद गुज्रेका अखद्या बस्टु फेला पारी नष्ट गरीएको हो। उक्त अखाद्य बस्तु जफत गरि सोही स्थानमा नष्ट गरिएको खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार धेरै जसो होटलहरुमा सरसफाइ नभएको भेटिएकाले सरसफाइमा ध्यान दिन र आगामी दिनमा अनुगमनमा आउँदा भेटिए कारबाही गर्ने चेतावनी दिएको बताउनु भयो। यस्तै विश्व खाद्य स्वच्छता दिवस २०८२ मनाउने तयारी भएकाले सुरक्षित खानाका लागि पाँच सन्देश लेखिएको पोस्टर समेत होटलहरुमा बितरण गरिएको थियो। अनुगमन खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय धनकुटा, राष्ट्रिय उपभोक्ता मञ्च, साँगुरीगढी गाउँपालिका र प्रहरी चौकी मुलघाटको टोलीले संयुक्त रुपमा गरेको हो।