भावना वर्देवा
इटहरी । झापा सदरमुकाम भद्रपुर नगरपालिका ८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह जीपी भवनको निर्माण कार्य सुरु हुने भएको छ। करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जीपी भवनको निर्माण कार्य सुरु हुने भएको हो। भवन निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालयमार्फत तीन करोड रूपैयाँ बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए। बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम सुरु गरेर अधुरो भवनलाई पूरा गर्ने बाटो खुलेको उनले बताए। खरिद ऐन १४औँ संशोधनसँगै जीपी भवन निर्माणमा देखिएको कानूनी बाधासमेत हटेको नगरप्रमुख पोखरेलले बताए। तत्कालीन झापा जिल्ला विकास समितिले सभागृह निर्माणका लागि १२ करोड ७२ लाख ६९ हजार रूपैयाँमा ठेक्का लगाएको थियो। प्रेरा(शाह जेभी कम्पनीले विसं २०७२ असार ९ गते निर्माण सम्झौतामा हस्ताक्षर गरेको र त्यसको म्याद विसं २०७४ भदौ ३१ गते समाप्त भएको थियो। ठेकेदार कम्पनीले करिब ११ करोड रूपैयाँ भुक्तानी लगिसकेको नगरप्रमुख पोखरेलले बताए। यसअघि गत चैतमा जीपी भवन निर्माणका लागि बजेट माग गर्दै नगरप्रमुख पोखरेललगायतको टोली ज्ञापनपत्र लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको थियो। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थियो। विसं २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्षस्थ नेताहरुले बहुउपयोगी सभागृहको संयुक्तरुपमा शिलान्यास गरेका थिए। यहाँस्थित मेची रंगशालाको पश्चिमी छेउमा रहेको जिल्ला समन्वय समितिको खाली जग्गामा निर्माण सुरु गरिएको सभागृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ। यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ सटर र दोस्रो तलामा तीन बैंक अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना रहेको छ।


