इटहरी । सप्तरीको सुरुङा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटेराको समूहले लुटपाट गरी ५० वर्षीय कान्तलाल चौधरीको हत्या घटनाको स्थलगत निरीक्षण गर्न मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी शनिबार बिहान घटनास्थल पुगेका छन्। शनिबार बिहान घटनास्थल पुगेर घटना र वस्तु अवस्था बुझेपछि संलग्नलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द खतिवडालाई निर्देशन दिएका छन्। घटनालगतै तालिमप्राप्त कुकुरको सहायताले सूक्ष्म अनुसन्धान अघि बढाइएको र शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए। उनका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मगाइएको जंगेको ९तालिमप्राप्त कुकुर० सहायताले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको हो। एसपी खतिवडाले घटना स्थलबाट तीन राउन्ड जीवित गोली र एउटा खोखा पनि बरामद भएको बताए। यस्तै शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। बिहीबार राति करिब १२ बजे घरमा डाका गरी फर्किँदै गरेका समूहलाई प्रतिकार गर्दा चौधरीमाथि डाका समूहले गोली प्रहार गरेको थियो। उनको ढाँड र घाँटीको बिचमा गोली लागेको थियो। गोली लागेर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो। डाकाको प्रतिकारमा मृतक चौधरीका भाइ नाता पर्ने ४० वर्षीय रामाकान्त चौधरीको टाउकोमा चोट लागेको र उपचारपछि घर फर्किएका छन्। डाका समूहले चौधरीको घरबाट करिब ५० हजार रुपैयाँ, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लगेको एसपी खतिवडाले बताए।


