विराटनगर | कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता विराटनगरस्थित शहीद रंगशालामा भव्य रुपमा सुरु भएको छ। प्रदेशका ११ जिल्लाबाट करिब १,००० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको यो प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने राष्ट्रव्यापी प्रतियोगिताका लागि कोशी प्रदेशको प्रतिनिधि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सभामुख अम्बर बहादुर विष्टले गर्नु भयो। समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रको समुन्नत विकासका लागि भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य, र खेलकुदजस्ता क्षेत्रहरूमा पनि समान रूपमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भनुभयो, "खेलकुदले युवाहरूमा अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्छ। त्यसैले, खेल क्षेत्रलाई भविष्य निर्माणको आधार मानेर बजेटमा प्राथमिकता दिनुपर्छ।"

सभामुख विष्टले कोशी प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुद क्षेत्रको पूर्वाधार, प्रशिक्षण र प्रतिभा विकासमा फराकिलो बजेट व्यवस्था गर्न आग्रह समेत गर्नुभयो।

सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले प्रतियोगिता छोटो सूचना अवधि मै आयोजना गर्न सफल भएकोमा सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै, कोशी प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, "खेलाडीको मिहिनेत र समर्पणले मात्र प्रदेशको गौरव बढ्ने होइन, त्यसको आधार तयार पार्ने जिम्मेवारी सरकारको हो।"1749312371299

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई शुभकामना दिंदै, राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीलाई उचित सम्मान र पुरस्कार दिने जानकारी दिनुभयो। साथै, उहाँले खेलकुद क्षेत्रको दीर्घकालीन विकास सुनिश्चित गर्न खेलाडीको भविष्य सुरक्षित गर्ने नीति निर्माणमा बोर्ड प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

तर, उहाँले केही जिल्लाको अनुपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै, सोलुखुम्बु, सुनसरी र खोटाङ जिल्लाका खेलकुद विकास समितिहरूको सहभागिता सुनिश्चित गर्न नसकेको विषयमा आवश्यक छानबिन र कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो।

प्रतियोगितामा भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्स लगायतका खेल समावेश गरिएको छ। प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले काठमाडौँमा आयोजना हुने १५ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

यस प्रतियोगितालाई खेलकुदमार्फत युवा सशक्तीकरण, अनुशासन, नेतृत्व र राष्ट्रिय एकताको अभ्यासस्थलका रूपमा लिइएको छ। सहभागी खेलाडीहरूका लागि यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल यात्रा सुरु गर्ने अवसर पनि प्रदान गर्ने अपेक्षा गरिएको छ।

१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रदेशस्तरीय प्रतियोगिता कोशी प्रदेशका युवाहरूका लागि प्रतिभा प्रस्तुत गर्ने, प्रतिस्पर्धा गरिने, र राष्ट्रिय गौरवका लागि तयारी गर्ने महत्वपूर्ण मञ्च बनेको छ। यस प्रतियोगिताले प्रदेशभित्रको खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्नुका साथै, खेलकुद नीति र पूर्वाधारमा प्रदेश सरकारको प्रतिबद्धता र गम्भीरता समेत झल्काउँछ।