अक्षता याखा लिङ्खा

इटहरी । बाँदर तथा अन्य जङ्गली जनावरले अन्य बालीको तुलनामा अदुवामा क्षति नगर्ने भएपछि हिलेका स्थानीय अदुवा खेतीतर्फ लागेका छन् । अन्य बालीभन्दा कम क्षति गर्ने र मूल्यसमेत राम्रो हुने भएकाले अदुवा खेती लाई व्यावसायिक बनाउँदै लगेको स्थानीय किसान विमला घिमिरे बताउनुहुन्छ । सोही ठाउँका अर्का किसान मेघराज खतिवडाले समेत यस वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर क्षेत्रमा अदुवा खेती विस्तार गर्नुभएको छ। यो क्षेत्र बसाइँसराइको चपेटामा परेको क्षेत्र पनि हो । बसाइँसराइ पछि बस्ती घट्दा पछिल्लो समय बाँदरको बिगबिगी बढ्दो छ । यसबाट जोगिन केही वर्षअघिदेखि अदुवा खेती गर्दै आउनुभएका कर्णबहादुर लिम्बूले पनि अदुवा खेती विस्तार गर्नुभएको छ ।

बाँदर र अन्य जङ्गली जनावरले अन्य बालीभन्दा कम क्षति गर्ने र मूल्यसमेत राम्रो हुने भएकाले अदुवा खेती लाई व्यावसायिक बनाउँदै लगेको लिम्बूको भनाइ छ । अघिल्ला वर्षको भन्दा मूल्य कम भए पनि यस क्षेत्रका किसानले प्रतिपरिवार एक लाखदेखि पाँच लाखसम्मको अदुवा बिक्री गरेको स्थानीय किसान लेखनाथ ओझा बताउनुहुन्छ । गाउँमै कालोपत्रे सडक पुगेसँगै बिक्रीका लागि समस्या नभएको उहाँको भनाइ छ । अदुवा खेतीमा सम्भावना सँगै जटिलतासमेत भएको किसानको गुनासो छ उत्पादन भएको समयमा किसानले आफ्नो समानको समेत मूल्य तोक्न नपाउने र व्यापारीले मूल्य निर्धारण गर्ने जस्ता कुरामा भने समस्या रहेको किसानको गुनासो छ ।