इटहरी । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो। सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको बताए।
सङ्क्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको उनले बताए। ‘लम्पी स्किन’ले थप जोखिम नहोस् भन्नाका लागि सङ्क्रमण फेलापरेको गोठको पाँच सय मिटर आसपासका किसानले पालेका डेढ सयभन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ । यो रोग सङ्क्राकम भाइरसबाट फैलिने गर्दछ । यसैगरी मेचीनगर वडा नं ६ स्थित बबिता बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए।
फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बङ्गुर भकाभक मर्दा ठूलो क्षति भएको बताइन् । नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले प्रभावित बङ्गुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधोपचार र सचेतनाका कार्यहरू गरिरहेको छ ।


