पाँचथर | नेपाल तरुण दल फिदिम नगरपालिका–८ को आयोजनामा शनिबार सम्पन्न ‘तरुण भेट्रान्स एक दिवसीय फुटबल प्रतियोगिता’मा बौद्ध क्लब विजेता बनेको छ। फिदिम भेट्रान्सलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै बौद्ध क्लबले उपाधि चुमेको हो।
प्रतियोगितामा जम्मा चार टिम सहभागी थिए। विजेता टोलीले ट्रफी, मेडलसहित नगद रु १५ हजार प्राप्त गरेको छ भने उपविजेता टोलीले ट्रफी, मेडल र नगद रु १० हजार प्राप्त गरेको हो ।
समापन समारोह नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्र कुमार केरूङको प्रमुख आतिथ्यतामा तथा नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामा विशेष अतिथि थिए भने वडा नं ८ का अध्यक्ष सुर्य कुमारी राईको अध्यक्षता रहेको थियो।
प्रतियोगिता अन्तर्गत महिला तर्फ ‘तमाखे क्लब’ र ‘घले टिम’बीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको थियो। उक्त खेलमा घले टिमले २–० को जित हासिल गर्यो।
यस्ता प्रतियोगिताले युवामा खेलप्रति रुचि बढाउनुका साथै आपसी मित्रता र सहकार्य प्रवर्द्धन गर्ने विश्वास लिइएको नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनु भयो ।
नेपाल तरुण दल पाँचथर खेलकुद क्षेत्रमा सँगसँगै सामाजिक कार्यमा समेत सक्रिय रहेको छ ।