इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम पथरी शनिश्चरे आइडल रियलिटी शो को फाईनल फिनाले सम्पन्न भएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजना र पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा हरियाली सामुदायिक वन उपभोक्ता समूहको सांगीतिक तथा सांस्कृतिक हलमा आयोजित समारोहमा गायन तथा नृत्य विधाको ग्राण्ड फिनाले शनिबार सम्पन्न भएको हो । “ प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान“ भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगितामा – प्रथम, फष्ट रन अप र सेकेन्ड रनर अप क्रमशः गरिमा मगर ,सुजता घिसिङ र वितेश राई घोषित हुनुभयो । यसैगरी, गायन तर्फबाट राज लोहार प्रथम , अभिषेक लिम्बु फष्ट रनर अप र तुलसा थापा सेकेन्ड रनर अप घोषित हुनुभयो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एक समारोहका बीच दुवै विधाका प्रथम, फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित कलाकारहरूलाई नगद ४० हजार, २० हजार र १०, हजार रूपैयाँ नगदसहित ट्रफी तथा मेडलले पुरस्कृत गर्नुभएको थियो । अघिल्ला ४ चरण अन्तर्गतका विभिन्न राउण्ड छिचोल्दै गायन तथा नृत्य विधाका १०÷१० जना प्रतिभाशाली प्रतियोगीहरुले लाईभ म्युजिक रियालिटी शोमा आ आफ्ना गायन प्रतिभा प्रस्तुत गरेका थिए । सोहि अवसरमा वरिष्ठ लोकगायक गौरव दर्पणलाई स्वस्थ सम्मानबाट सम्मानित गरिएको थियो । नगर प्रमुख तुम्वापोले सो सिंगीङ रियालिटी शोका प्रमुख निर्णायक वरिष्ठ लोकगायक गौरव दर्पणलाई मुहार चित्र सहित नगद २५ हजार तथा सम्मानपत्रले सम्मानित गर्नुभएको थियो । कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष धनराज राई ’अमिर’को अध्यक्षतामा सम्पन्न भएको सो स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाका निवर्तमान मेयर दिलीकुमार राई, नगरप्रवक्ता नवीन जंग कार्की, आयोजक संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

