इटहरी । तरुण दलले सहरी विकास मन्त्रालयले केन्द्रीय कार्यालय निर्माण गर्न बजेट दिएपछि आन्तरिक रुपमा संकलन गरेको रकम फिर्ता गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷०८३ बजेटमा नै सहरी विकास मन्त्रालयले तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिदिएको छ । पार्टीको संगठनको भवन बनाउन सरकारी ढुकुटीको रकम दूरुपयोग गरेको भन्दै सहरी विकास मन्त्री प्रकाशमान सिंहको आलोचना भएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित रविभवनमा बन्ने भवनका लागि मन्त्रालयबाट ३ करोड बजेट छुट्याइएको छ । सरकारबाट कार्यालय बनाउन बजेट प्राप्त हुने भएपछि संगठनले आफ्नै बलबुतामा भवन निर्माण नगर्ने भएको छ । कार्यालय भवन बनाउन सहयोग गर्नेहरुमा कतिपयले कबोल गरे अनुसार पैसा नबुझाएको, कुन व्यक्तिसँग कति रकम लिएको र संकलित रकमको यथार्थ तथ्यांक नरहेको तरुण दलका नेताहरु बताउँछन् । केन्द्रीय सदस्य सरोज न्यौपानको दाबी अनुसार भवन बनाउन पुग्ने रकम पार्टीभित्रैबाट उठिसकेको थियो । विद्धान गुरुङको नेतृत्वमा रहेको तरुण दलले भवन निर्माणका लागि केन्द्रीय सदस्य र शुभेच्छुकसँग संकलन गरिएको रकम समेत फिर्ता गर्ने तयारी गरेको छ । २०८० चैतमा बसेको केन्द्रीय समिति बैठकमा कार्यालय भवन निर्माणका लागि रकम संकलन गरिएको थियो । त्यस समय ३७ जनाले केन्द्रीय कार्यालय भवन बनाउन सहयोग रकमको वाचा गरेका थिए । भवन निर्माणका लागि आवश्यक आर्थिक सहयोग विभिन्न साथीहरूबाट संकलन गरिएको अध्यक्ष गुरुङले निर्णयमा उल्लेख गर्नुभएको थियो  । पार्टी सभापतिलाई अनावश्यक विवादमा मुछिएको भन्दै गुरुङप्रति तरुण दलभित्रैबाट विरोध भयो । गुरुङले पुरानो विज्ञप्तिलाई संशोधन गर्दै नयाँ विज्ञप्ति जारी गर्नुभएको छ , जसमा नेपाल तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गरिएको थियो ।