इटहरी । खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल मनकामना धाममा हालसम्मकै ठूलो तौल भएको ऐतिहासिक घण्टी चढाइएको छ। अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ र उहाँकी पत्नीले आफ्ना दिवंगत पितृहरूको सम्झनामा २१६ किलोग्राम तौलको उक्त भव्य घण्टी मन्दिरमा समर्पण गर्नुभएको हो । खाँदवारीमै जन्मनुभएका श्रेष्ठ दम्पतीले काठमाडौंका प्रसिद्ध शिल्पीकार मार्फत कलात्मकता झल्किने घण्टी तयार गराएका हुन् । घण्टीसँगै आकर्षक काठको घण्टाघरसमेत निर्माण गरिएको छ । करिब ३४ लाख रुपियाँ लागतमा निर्माण भएको उक्त घण्टी र घण्टाघर मनकामना मन्दिर परिसरमा हालसम्म स्थापना गरिएका सामग्रीमध्ये सबैभन्दा ठुलो र भव्य मानिएको छ। मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठुलो रहेको बताउनुभयो ।, श्रेष्ठ दम्पती हाल अमेरिकामा स्थायी बसोबास गर्दै आए पनि जन्मभूमिप्रतिको गहिरो श्रद्धा र धार्मिक आस्थाले प्रेरित भई यस्तो पुण्य कार्यमा सहभागी भएको बताइएको छ। स्थानीयवासी तथा भक्तजनहरूका अनुसार, मनकामना मन्दिरमा गरिएको यस्ता धार्मिक योगदानहरूले मन्दिरको गरिमा झनै बढेको छ। जनविश्वास अनुसार, पवित्र मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा अर्चना गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ।


