इटहरी । मोरङ पथरीशनिश्चरे ३ को महिला जागरुक हरिकिर्तन तथा संगिनी समूहले भारतको सिलिगुरीमा जारी ८ औं गीताञ्जली मेङ्गो फेस्टिभलमा परम्परागत संगिनी नाच प्रस्तुत गरेको छ । नेपाली र भारतीय विविध सांस्कृतिक झाँकी प्रदर्शन हुने यस महोत्सवमा नेपाली संगिनी नृत्य पहिलोपटक प्रस्तुत भएको हो । सांस्कृतिक अन्तरघुलनका रुपमा संगिनीले समेत नेपालको मौलिक संस्कृतिका रुपमा प्रस्तुत गर्ने अवसर पाएको संगिनी प्रवद्रधनका अभियन्ता पत्रकार अर्जुन काफ्लेले जनाउनु भएको छ । समूहकी अध्यक्ष देवीमाया पोख्रेलको नेतृत्वमा दुई टोलीले संगिनी प्रस्तुत गरेको थियो । संस्कार संरक्षण र परम्परागत कला जगेर्नामा सक्रिय सो समूहले नगरपालिका कार्यालयको सहयोगमा गत फागुनमा पथरी शनिश्चरेमा प्रथम संगिनी महोत्सव सम्पन्न गरेको थियो ।