इटहरी । धिमाल समुदायबाट चिकित्सक बन्नु भएको डा।सजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा। सजनालाई प्रदान गरिने भएको हो । धिमाल युवा प्रतिभा पुरस्कार छनोट समितिको धिमाल परियोजना स्थल, मोरङको मङ्गलबारेमा सोमबार बसेको बैठकले धिमाल जाति कै पहिलो एमबिबिएस डा। सजनालाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिका संयोजक अजितकुमार धिमालले दमक–२, खरखरे निवासी सजनाले गण्डकी मेडिकल कलेज, पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उत्तीर्ण गर्नुभएको बताउनुभयो ।
मोरङ, झापा र सुनसरीमा बसोबास गर्ने धिमाल समुदायबाट एमबिबिएस उत्तीर्ण गर्ने पहिलो डाक्टर बन्नुभएकाले सम्मान गर्ने निर्णय गरिएको धिमालको भनाइ छ । हरेक वर्ष असार २ गते जातिरी र सिरिजात पर्व समापनको अवसरमा आयोजित कार्यक्रमको अवसरमा यो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको जानकारी संयोजक धिमालले दिनुभयो । सम्मानित व्यक्तित्वलाई नगद पाँच हजार रुपियाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिने छ । यसअघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्यङ्गना सरस्वती धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ


