भोजपुर । अरुण गाउँपालिकाको व्यवस्थापन तथा पशु सेवा तालिम केन्द्र, दुहबी सुनसरीको आयोजनामा आधारित व्यवसायिक बाख्रा पालन तालिम हिजोदेखि प्याउलीमा सुरु भएको छ। जेष्ठ २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने यो तालिमले स्थानीय कृषकहरूलाई वैज्ञानिक विधिबाट बाख्रा पालन सिकाउने उद्देश्य लिएको छ।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले उद्घाटन गर्नुहुँदै, पशुपालन जस्ता व्यावसायिक क्रियाकलापहरू गाउँको आर्थिक समृद्धिमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम लुईँटेल, वडा अध्यक्ष कुमार कार्की, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, कृषी तथा पशु पंक्षी शाखाका कर्मचारीहरू तथा तालिममा सहभागी पशुपालकहरूको उपस्थिति थियो।
६ दिने तालिमको सञ्चालन अरुण गाउँपालिका पशु पंक्षी शाखाका प्रमुख अर्जुन बिष्टले गर्नु भएको हो भने तालिमको अध्यक्षता दुहबी पशु सेवा तालिम केन्द्रका प्रशिक्षक कुमार सिं खत्रीले गर्नुभएको छ।
तालिममा वैज्ञानिक बाख्रा पालन, आहार व्यवस्थापन, स्वास्थ्य सरसफाइ, रोग नियन्त्रण, र बजार व्यवस्थापन लगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ। आयोजक संस्थाका अनुसार, तालिमले कृषकहरूलाई व्यवसायिक स्तरमा बाख्रा पालन गर्न उत्प्रेरित गर्नेछ।


