मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा “उपभोक्ता सचेतना कार्यक्रम“ सफलता पूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजनामा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि. र सुन्दरहरैंचा नगरपालिका कार्यालयको महत्वपूर्ण सहकार्य रहेको थियो। कार्यक्रमको उद्देश्य उपभोक्ताहरूलाई आफ्नो अधिकार र कानुनी सुरक्षा सम्बन्धी जानकारी दिनु र व्यावसायिक जीवनमा उपभोक्ता बन्ने क्रममा अपनाउनुपर्ने सजगता र नैतिकता सम्बन्धी शिक्षा प्रदान गर्नु थियो।
कार्यक्रमको उद्घाटन प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षतामा भएको थियो। यस कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रोशन ढकाल हुनुहुन्थ्यो। कार्यक्रमका अन्य प्रमुख सहभागीहरूमा नगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, स्थानीय व्यवसायीहरू र सर्वसाधारण नागरिकहरूको बाक्लो सहभागिता रहेको थियो ।
उपभोक्ता सचेतना कार्यक्रमको प्रमुख उद्देश्य उपभोक्ताहरूसम्म उपभोक्ता अधिकार र कानुनी सुरक्षा सम्बन्धी जानकारी पुर्याउनु थियो। यस कार्यक्रमको विशेष आकर्षण इन्सेक सुनसरीका प्रशिक्षक तथा गोरखापत्रमा आवद्ध जिल्ला अदालत सुनसरीका मेलमिलाप कर्ता जय कृष्ण यादवको प्रशिक्षण थियो। यादवले कार्यक्रमको सहभागिहरूसँग उपभोक्ता अधिकार, बजार अनुगमन प्रणाली, गलत तथा म्याद नाघेका वस्तुहरूको पहिचान र उजुरी दिने प्रक्रियाहरूको बारेमा विस्तृत जानकारी दिएका थिए। उहाँले उपभोक्ताहरूलाई उनीहरूको अधिकारका विषयमा सजग बनाउँदै, गलत वस्तुहरूबाट बच्ने तरिका र उपभोक्ताको रूपमा सक्षम बनाउने उपायहरूबारे गहिरो चर्चा गर्नुभयो।
कार्यक्रमको अन्तिममा स्थानीय व्यक्तिहरूले उपभोक्ता अधिकार र सचेतनाका विषयमा धारणा प्रस्तुत गरे। कार्यक्रममा सहभागी स्थानीय भरत बस्नेतले भने, “यो कार्यक्रमले उपभोक्ता अधिकारको जानकारी मात्र नभई, हामीलाई व्यावसायिक जीवनमा उपभोक्ता बन्ने क्रममा अपनाउनुपर्ने सजगता र नैतिकताको महत्त्वलाई बुझ्न पनि मद्दत पुर्यायो। यसले हामीलाई राम्रो उपभोक्ता बन्नका लागि प्रेरणा दिएको छ।"
कार्यक्रमपछि, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रोशन ढकालले यस प्रकारका कार्यक्रमहरूको महत्त्वलाई स्वीकार गर्दै, “उपभोक्ता सचेतना कार्यक्रमहरूको आवश्यकता झनै बढिरहेको छ। आगामी दिनहरूमा अन्य नगरपालिकाहरूले पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय सरकार उपभोक्ताको हितमा सदैव क्रियाशील रहने र बजार अनुगमन तथा नियमनमा थप कडाइ गरिनेछ,” भन्नुभएको थियो।
कार्यक्रममा विभिन्न स्थानीय प्रतिनिधिहरू र सामुदायिक संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। सुन्दरहरैंचा नगरपालिकाका जनप्रतिनिधिहरू जस्तै निलम थापा, कमला श्रेष्ठ, प्रमिला अछामि, साथै स्थानीय टोल विकास संस्थाका पदाधिकारीहरू र वडा नम्बर १२ का वडा सदस्यहरू पनि कार्यक्रममा उपस्थित थिए। यसका साथै, स्थानीय व्यापारिक संघसंस्थाका प्रतिनिधिहरू र अन्य सामाजिक कार्यकर्ताहरूको पनि सक्रिय सहभागिता थियो।
कार्यक्रमको सफलतामा सबै सहभागीहरूको ठूलो भूमिका रहेको र यसले स्थानीय समुदायमा उपभोक्ता सचेतना प्रवर्द्धन गर्न मद्दत पुर्याएको सहभागीहरूले बताएका छन्। आगामी समयमा पनि यस प्रकारका कार्यक्रमहरूको आयोजना गर्दै उपभोक्तामा सचेतना ल्याउने प्रयासलाई निरन्तरता दिने इच्छा व्यक्त गरिएको छ।