इटहरी । झापामा अधिक गर्मीका कारण जनजिवन प्रभावित बनेको छ । गर्मीका कारण दुई जनाको मृत्यु भएको आंशका गरिएको छ । मङ्गलबार अर्जुनधारा –११ नयाँ बस्तीस्थित चियाबगानभित्र कच्ची बाटोमा सोही ठाउँ बस्ने ६० वर्षीय मित्रलाल कामी मृत फेला पर्नु भएको थियो । तातो घाममा कामी ढलेको अवस्थामा स्थानीले देखेर प्रहरीलाई खबर गरेको बताइएको छ । यसैगरी, बिर्तामोड नगरपालिका–२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैवारीमा बिर्तामोड २ आदर्श टोल बस्ने वर्ष ३६ वर्षीय राम टुडु मृत अवस्थामा भेटिनु भएको छ । बाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार अधिक गर्मीकै कारण उहाँहरुको मृत्यु भएको हुनसक्ने स्थानीयहरुले बताएको जनाउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले गर्मी धेरै भए पनि गर्मीका कारण नै मृत्यु भएको हो भन्ने पुष्टि गर्न भने नसकिएको बताउनुभयो । उहाँले अधिक गर्मीको समयमा अति आवश्यकीय काम बाहेक बाहिर ननिस्कन आग्रह गर्नुभयो । यसैबिच झापामा अधिक गर्मी बढेपछि कमल गाँउपालिकाले दुई दिनका लागि पालिकाभित्रका बिद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । पछि अन्य बिदामा मिलान गरी पठनपाठन गराउन भन्दै विद्यालय बन्द गराउन निर्देशन दिएको हो ।गाँउपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार गर्मीले बालबालिका बेहोस हुने अवस्था आएपछि विद्यालयहरु बन्द गराउने निर्णय गरिएको हो । बालबालिकाहरुलाई गर्मीबाट जोगाउनका लागि अभिभावकहरुलाई आग्रह पनि गरिएको उहाँले जनाउनुभयो ।