इटहरी । एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि सुनसरीको रामधुनीका महिलाहरुले आफुले हासिल गरेको सफलताको कथाहरु सुनाएका छन् । इटिसी नेपाल काठमाडौँको सहयोगमा सेभ द अर्थ सुनसरीले रामधुनी नगरपालिकाको विभिन्न चार वटा वडामा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत महिला सशक्तिकरण कार्यक्रममा आवद्ध महिलाहरुले कार्यक्रममा आवद्ध भएपछि हासिल गरेको सफलताको कथा वाचन गरेका हुन् । विगत चार वर्षदेखि सेभ द अर्थले सञ्चालन गरिरहेको एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत महिला सशक्तिकरणका लागि सञ्चालित ४४ समूहमा आवद्ध महिलाहरुको सहभागितामा सफलताको कथा वाचन कार्यक्रम राखिएको एकीकृत सामुदायिक विकास कार्यक्रम रामधुनीका प्रमुख हरिनारायण चौधरीले जानकारी दिनुभयो ।
सफलताको कथामा महिलाहरुले एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि हासिल गरेको सफलताको कथाहरु समेटेर प्रस्तुत गरेको समेत प्रमुख चौधरीको भनाइ छ । महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत समूह बनाएर महिलाहरुलाई बिउ पुँजी उपलब्ध गराएर पशुपालन, व्यापार, सिलाईकटाई आदिमा सहभागिता गराइएको छ । बिउ पुँजीको सदुपयोग गर्दै समूहमा आवद्ध महिलाहरुले आयआर्जन गर्न सफल हुन थालेका छन् । सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षतामा रामधुनी नगरपालिकाको झुम्कामा आयोजित सफलताका कथा वाचन कार्यक्रममा समाज शास्त्रका अध्यापक विकास कार्की , इटिसी नेपालका कार्यक्रम अधिकृत आकास शाहलगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।


