इटहरी | अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा इटहरी लेडी जेसिजले ‘स्वास्थ्य सेवामा समर्पित नर्सहरूको सम्मान र प्रेरणा’ भन्ने मूल नारासहित एक भव्य सम्मान कार्यक्रमको आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित इटहरी अस्पताल परिसरमा सम्पन्न उक्त कार्यक्रममा १४ जना महिला नर्सहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यता तथा इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि थापाले नर्सहरूलाई 'स्वास्थ्यसेवा क्षेत्रमा रातदिन खटिएर रोगीको सेवा गर्ने देवदूत' को संज्ञा दिँदै उहाँहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले भने, "समाजको स्वास्थ्य रक्षा गर्ने नर्सहरूको सेवा अमूल्य छ। यिनको योगदानको कदर गर्न समाजका सबै पक्षले ध्यान दिनुपर्छ।"
इटहरी अस्पतालका प्रमुख डा. मनिष कुमार शर्माले नर्सिङ पेशालाई मानवतामूलक सेवा र करुणाको प्रतीकको रूपमा व्याख्या गर्दै नर्सहरूकै कारण अस्पतालको सेवा प्रभावकारी हुँदै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा JENIL Nursing and Education Consultancy, काठमाडौंका प्रबन्ध निर्देशक गिता सुवेदीको विशेष सहयोग रहेको थियो। उहाँले नर्स पेशाप्रति सम्मानभाव राख्दै यस्तो किसिमका कार्यक्रमले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउने बताउनुभयो।
इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालले स्वागत मन्तव्यका क्रममा नर्सहरूलाई सम्मान गर्नु संस्था र समाज दुवैको दायित्व भएको बताउँदै भन्नुभयो, "आज हामीले सम्मान गरेका १४ जना नर्सहरू अस्पतालमा शालीनता, संवेदनशीलता र दक्षताका साथ सेवा गर्दै आइरहेका छन्। हाम्रो समाज यिनका योगदानप्रति सधैं ऋणी रहनेछ।"
कार्यक्रममा इटहरी अस्पतालका प्रमुख डा. मनिष कुमार शर्मा,इटहरी अस्पताल प्रशासन प्रमुख पूजा भट्टराई, नेपाल जेसिजका राष्ट्रिय पदाधिकारीहरू, इटहरी लेडी जेसिजका पदाधिकारीहरू लगायत समाजसेवी, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सम्मानित नर्सहरूलाई सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरिनुका साथै उनीहरूको अनुभव र प्रेरणादायी यात्रा प्रस्तुत गरियो। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सम्मानजनक कार्यक्रम निरन्तर गरिरहने प्रतिवद्धता जनाएको थियो।


