युमि राई
इटहरी । धनकुटामा दुई वर्षपछि नापतौल परीक्षण शिविर सुरु भएको छ । उद्योग वाणिज्य संघ धनकुटाको आयोजना र गुण नियन्त्रण कार्यालय कोशी प्रदेशको समन्वयमा ढक, तराजु, लिटर र मिटर लगायतका वस्तु परीक्षण गर्ने गरी शिविर सुरु भएको हो । ‘‘उद्योग, व्यापार, व्यवसाय गरौं, समृद्ध नेपालको निर्माणमा सहयोगीबनौं’’ भन्ने नाराका साथ सेवा सञ्चालन गरीएको छ । घुम्ती सेवाको पहिलो दिन धनकुटा–६ स्थित बीच बजारबाट सुरु गरीएको छ । शिविरमा ढक, काँटा, लिटर र मिटर लगायतका नापतौल गर्ने उपकरण चेकजाँच गरीएको छ। अनुमती नलिएका व्यवसायिहरुलाई अनुमती लिन र नविकरण नगराएकाहरुलाई नविकरण गर्न ढक तराजु दर्ता तथा नविकरणका लागि घुम्ती सेवा सुरु गरीएको हो । नापतौलको नविकरण व्यवसाय अनुसार किराना पसल, माछामासु पसललाई २÷२ वर्षमा र संवेदनशील पसल सुनचादी, उद्योग, डेरी र निर्माण समाग्रीका पसलहरुमा १÷१ वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । शिविरको उद्धाटन गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराजपोख्रेलले यस्ता कार्य निरन्तर भएमा उपभोक्ता ठगिनबाट जोगिने बताउनु भयो। शिविर धनकुटा बजार सहित सिधुँवा, पाख्रीबास, हिले, मुलघाट र भेडेटार लगायतका ठाउँमा सञ्चालन हुने उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ। नापतौल दुरुस्त नराखे ३० हजार रुपैंया सम्म कारबाही हुने कानुनी प्रावधान भए पनि ब्यापारिहरुले दुरुस्त भने राख्ने गरेका छैनन् । नापतौल सम्बन्धी सम्पूर्ण परीक्षण गर्ने र प्रमाणपत्र दिनेगरी शिविर राखिएको वाणिज्य संघले जनाएको छ ।


