इटहरी । मोरङको सुन्दरहरैंचा – ६ मा रहेको डिपु टोल विकास संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकोे छ । बुधबार संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङदेनको प्रमुख आतिथ्यतामा संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो । वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष लिङदेनले टोलको लागि मात्र नभएर कुलतमा फसेका व्यक्तिहरुलाई कुलतबाट बाहिर निकाल्नको लागि उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले सडकमा बत्ति जडान गर्न पनि संस्था सक्रिय रहेको र वडाले गर्न नसकेको काम पनि डिपु टोल विकास संस्थाले गरेको भन्दै प्रसंशा गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य राख्दै युवा ब्यबसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले एक असल व्यक्ति भयो भने नगर तथा समाज परिवर्तन गर्न सकिने भएकाले अब युवा शक्ति आउनु पर्ने बताउनुभयो । उहाँले संस्थालाई आर्थिक सहयोग समेत गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य टुनाकुमारी विक,सामाजिक व्यक्ति सुरज बिष्ट लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव गीत मिश्रले गर्नुभएको थियो ।