इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा दुई दिनदेखि विद्युत अवरुद्ध हुँदा पालिकाको सेवा ठप्प भएको छ । मङ्गलबार अपराह्न वर्षातसँगै आएको हावारीहुरीले केन्द्रीय प्रसारण लाइनमा क्षति पुग्दा गाउँपालिकाले प्रवाह गर्ने सेवा बन्द भएको हो । केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुँदा फक्ताङलुङ गाउँपालिकाको सेवा प्रवाहमा असर पर्नुका साथै स्थानीय नागरिक समेत विद्युतबाट बञ्चित भएका छन् । विद्युत नहुँदा पालिकामा कुनैपनि किसिमको सेवा प्रवाह हुन नसकेको उपाध्यक्ष रविन साम्रा लिम्बू विकासले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष सम्पन्न हुनै लाग्दा सेवाग्राहीको अत्यन्तै चाप भएको समयमा विद्युत आपुर्ति नहुँदा सेवाग्राही समेत मारमा परेका छन् ।
पालिकाको केन्द्रमा मात्रै नभएर २ नम्बर वडा खेजेनिम, ३ नम्बर वडा लिङखिम, ५ नम्बर वडा तापेथोकको वडा कार्यालयमा समेत विद्युत नहुँदा सेवा ठप्प भएको उपाध्यक्ष लिम्बूको भनाई छ । विद्युत ठप्प हुँदा फक्ताङलुङ गाउँपालिकाका तीन ओटा वडाका करिब एक हजारभन्दा बढी घर परिवार दुई दिन अन्धकारमा बस्न बाध्य भएका छन् । पालिकाको २ नम्बर वडा खेजेनिम, ३ नम्बर वडा लिङखिम, ५ नम्बर वडा तापेथोकको नागरिक दुईदिनदेखि अन्धकारमा बस्न बाध्य भएको स्थानीयले बताएका छन् । विद्युतका कारण पालिकाको मुरिङला क्षेत्रमा रहेको नेपाल टेलिकमको टावर सञ्चालन नहुँदा पालिकावासी मोबाइल सेवाबाट समेत बञ्चित भएका छन् । तत्काल विद्युत मर्मत गरी सञ्चालन गरिदिन माग गरेपनि नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रले बेवास्ता गरेको पालिकाको गुनासो रहेको छ । यता केन्द्रले हिजो देखिनै मर्मतको कार्य सुचारु गरेको जनाएको छ ।
भूगोल धेरै ठुलो भएको र मर्मतका लागि समय लाग्ने भएकाले विद्युत सुचारु हुन समय लागेको ताप्लेजुङ वितरण केन्द्रका कार्यालय प्रमुख सुरेस प्रसाद चौधरीले जानकारी दिनुभयो । यस्तै, जिल्लाको फुङलिङ नगरपालिका ९ हाङदेवा, फुरुम्बू, काफ्लेपाटी लगायतको क्षेत्रमा समेत मङ्गलबार साँझदेखि विद्युत ठप्प भएको छ ।


