इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदानमार्फत काठेपुल निर्माण गर्न सुरु गरिएको छ । मैवाखोला गाउँपालिका–४ साँघुस्थित एकबासे नेरुवाखोलामा बुधबारदेखि अस्थायी काठेपुल निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइमा नेरुवाखोलामा काठेपुल निर्माण गर्न सुरु गरिएको हो । बर्खा मौसममा मानिस आउजाउ गर्नलाई समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

अध्यक्ष वनेमका अनुसार मानिस  आउजाउ गर्न साथै मोटर (गाडी) गुडाउनसमेत मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको हो । काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्था, युवालगायत सहभागी भएर श्रमदान गर्न थालेका छन् । यता गाउँपालिकाको तर्फबाट व्याक हो लोडर (जेसिभी), ट्रयाक्टर, तारजाली लगायतका सामग्रीको व्यवस्था गरिएको छ ।