इटहरी । ताप्लेजुङमा विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पुर्व अभ्यास गरिएको छ । बाढीपहिरोका हिसाबले अत्यन्तै जोखिम रहेको ताप्लेजुङमा नेपाली सेनाको दुर्गादल गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मीको संंयुक्त सहभागितामा विपद् जोखिम प्रतिकार्य अभ्यास गरिएको हो । बाढीपहिरो तथा भिरालो स्थानमा फसेका नागरिकको उद्धार, डोरीको माद्यमबाट घाइतेलाई नदी पार गराउने लगायतको दुर्गादल गुल्मको प्राङगणमा नमूना अभ्यास गरिएको निमित्त सुर्य बहादुर क्षेत्रीले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार मनसुनको समयमा ताप्लेजुङका अधिकांश क्षेत्र पहिरोको जोखिममा रहेका छन् ।
पहाडी र हिमाली क्षेत्र भएका कारण ताप्लेजुङका मानिसहरु पहरा र ढुङ्गाको खोँचमा समेत पर्ने गरेका छन् । घाँस दाउरा तथा मेलापातका क्रममा समेत मानिसहरु चिप्लिएर पहरा र ढुङ्गाको खोंचमा पुग्ने गरेका कारण त्योबेला गरिने उद्धार समेतलाई प्राथमिकतामा राखेर विपद् नमूना अभ्यास गरिएको गुल्मले जनाएको छ । नमूना अभ्यासका क्रममा रेडक्रसकर्मीहरुले उद्धार र त्यसपछिको प्राथमिक उपचारको भूमिका निर्वाह गरेका थिए भने स्वास्थ्यकर्मीले दोस्रो उपचार प्रकृयाको जिम्मेवारी लिएका थिए ।


