इटहरी । सुनचाँदी र हिरा लगायत बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने सरकारको घोषणाविरुद्ध व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने सुनचाँदी व्यवसायीले चेतावनी दिएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले विलासिता कर र भ्याट खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ । आम सर्वसाधारण उपभोक्तादेखि सबै वर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै व्यवसायीहरुले त्यसको खारेजीको माग गरेका छन् । सरकारले सुनमा घुमाउरो पारमा ६ प्रतिशतको विलासिता कर थोपरेको र सुनका गहनामा प्रयोगहुने धातु तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट जोड्दा १९ प्रतिशत सम्मको मूल्य वृद्धिमा व्यवसायी र उपभोक्तालाई पार्न खोजेको आरोप व्यवसायीहरुको छ । अवैधानिक र उपभोक्तालाई असर पर्ने निर्णय फिर्ताको माग गर्दै बिभिन्न महासंघहरुले अर्थ मन्त्रालय र गृह मन्त्रालयहरुमा र ज्ञापन पत्रहरु ब्ुाझाउने कार्यहरु गरिहेको नेपाल सुन चाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्य एवं पुर्वाञ्चल सुन चाँदी व्यवसायी संघको अध्यक्ष टिकाराम विश्वकर्माले जानकारी दिनुभएको छ । सरकारको नयाँ घोषणाले सुनचाँदी बजारलाई अझ महामन्दीतर्फ अग्रसर बनाउने व्यवसायीहरुको तर्क छ ।


