इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग र प्रगति महिला समाजको आयोजनामा सञ्चालित मागमा आधारित ढाका कपडा बुनाइ तालिम सम्पन्न भएको छ । पालिका भित्रका १५ जना महिलालाई ७८ दिने ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले सीप सिकेर बस्ने  नभई त्यसलाई व्यवहारमा उतारेर व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख अकली चौधरीले पनि सीप सिकेर घरमा खालि नबस्न र उद्यमशील बन्न आग्रह गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ढकिया, बेकरी, मोबाइल मर्मत तथा मुडा बनाउने तालिम पनि सञ्चालन गरेको जानकारी दिनुभयो । त्यस्तै प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले सहभागी महिलालाई ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गर्नुभयो । समापन कार्यक्रममा सहभागीहरुले तालिमबाट आफूहरूलाई स्वरोजगार बन्न हौसला मिलेको अनुभव सुनाएका थिए ।