इटहरी । इटहरी उपमहानगरपालिका–६ मा आयोजित ‘बाल मेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम’मा विभिन्न विद्यालय र बाल क्लबमा आवद्ध बालबालिकाले विविध प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । कार्यक्रम शुक्रबार वडा कार्यालयको आयोजनामा सम्पन्न भएको हो । बालमैत्री नगर घोषणाको तयारीस्वरूप आयोजित कार्यक्रममा १० वटा विद्यालयका बालबालिकाले नृत्य, कविता, गजल र वाद्यवादन जस्ता कला प्रस्तुति गरेका थिए । प्रतिभा प्रदर्शन गर्ने बालबालिकालाई प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गरिएको वडा कार्यालयले जनाएकोे छ । कार्यक्रमका संयोजक तथा युवा स्रोत विकास तथा तालिम केन्द्रका निर्देशक निराजन खडकाले वडाभित्र बालबालिकाको अवस्था, बाल क्लब र टोल समिति तथा नगरस्तरीय बाल कार्यक्रमहरूमा बाल सहभागिताबारे विवरण प्रस्तुत गर्नुभयो ।
उहाँका अनुसार वडामा ९७% पाँच वर्ष मुनीका बालबालिकाले जन्मदर्ता प्रमाणपत्र पाएका छन् भने ९९.८५% बालबालिका आधारभूत शिक्षामा संलग्न छन् । त्यस्तै, ५ वर्ष मुनीका ४ सय २५ बालबालिकाले कुपोषणमुक्त खोप सेवा प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराईले बालबालिकाको प्रतिभाको प्रशंसा गर्दै आगामी बजेटमा बालबालिका सम्बन्धी कार्यक्रमका लागि थप बजेट विनियोजन गरिने जानकारी दिनुभयो । कार्यक्रमका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले इटहरीलाई आगामी वर्ष २०८३ मा बालमैत्री नगर घोषणा गर्ने योजना अनुसार यस्तो कार्यक्रम गरिएको बताउनुभयो ।

बालबालिकालाई शिक्षा मात्र होइन, हरेक क्षेत्रमा सक्षम बनाउने उद्देश्यले वडा कार्यालयले आवश्यक बजेट छुट्याई विभिन्न कार्यक्रम अगाडि बढाउने वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा बालबालिका फोकल पर्सन नेत्रप्रसाद न्यौपाने, वडा ६ बाल सञ्जाल अध्यक्ष आशिष लकान्द्री, बाल अधिकारकर्मी संगीता पोख्रेल, भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश संयोजक भरत थापा, नगर बाल सञ्जाल अध्यक्ष बिभूति काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


