इटहरी । सुन्दरहरैचा नगरपालिकामा थारु महिला सभा सुन्दरहरैचाको आयोजनामा मागमा आधारित अचरा खड्की बनाउने तालिम सम्पन्न भएको छ । थारु समुदायमा प्रचलित परम्परागत पहिरन, अचरा र खड्की जस्ता संस्कृति झल्काउने सामग्रीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम ३५ दिनसम्म सञ्चालन भएको थियो । तालिमको समापन कार्यक्रममा थारु महिला सभा अध्यक्ष दुर्गा चौधरीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रुपमा नगरप्रमुख केदारप्रसाद गुरागाईं र विशिष्ट अतिथिका रुपमा नगर उपप्रमुख अकली चौधरीको उपस्थिति रहेको थियो । २४ जना सहभागीले प्रशिक्षण लिएको कार्यक्रममा लक्ष्मी कुमार थारुले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम फलदायी भएको बताइए पनि अझ परिपक्वताका लागि थप ३ महिनाको तालिम आवश्यक रहेको सहभागीहरू तथा आयोजकले बताएका छन् । सोही अनुरूप आगामी वर्षको बजेटमा यसै कार्यक्रमलाई बजेट विनियोजन गर्न माग गरिएको थियो । त्यस्तै पटिया तथा ढकिया बनाउने तालिम समेत समापन गरिएको छ । थारु संस्कृति सङ्ग्रहालय अध्यक्ष चिन्तुलाल चौधरीको अध्यक्षतामा भएको तालिममा २४ जनाको सहभागिता रहेको थियो । २० दिनसम्म चलेको तालिमलाई ललिताकुमारी चौधरी र दुर्गा चौधरीले प्रशिक्षण गर्नुभएको थारु संस्कृति संग्रहालयका सभापति चिन्तुलाल चौधरीले बताउनुभयो । नगरप्रमुख गुरागाईंले छोटो अवधिको तालिमबाट समेत राम्रो उपलब्धि देखिएको बताउँदै यस्ता कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकतामा राखिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपप्रमुख अकली चौधरीले थारु समुदायको लोपोन्मुख संस्कृति संरक्षण गर्न तथा समुदायलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कैलाश बस्नेत, कार्यपालिका सदस्यहरू आनन्दकुमारी लिङ्खा, दुर्गा पोखरेल, टुनाकुमारी विश्वकर्मा, जनप्रतिनिधि राजकुमारी विश्वकर्मा, शान्ति चौधरी, सामाजिक शाखा प्रमुख गुणनिधि दाहाल, निर्मला दाहाल, थारु कल्याणकारी सभा सुन्दरहरैँचा अध्यक्ष विलटलाल चौधरी, जनजाति महासङ्घ सुन्दरहरैचा अध्यक्ष सुमन याख्खा लगायत स्थानीय समुदायका नागरिकहरूको उपस्थिति रहेको थारु महिला सभा सुन्दरहरैचा नगर सचिव रुक्मिता चौधरीले बताउनुभयो । यस तालिमले सांस्कृतिक जागरणसँगै आर्थिक आत्मनिर्भरता तर्फ सहभागीहरूलाई प्रेरित गरेको थारु महिला सभा अध्यक्ष दुर्गा चौधरीले बताउनु भयो ।


