अक्षता याखा लिङ्खा
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’ सम्बन्धी तालिम दिएको छ । रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएको नगरपालिकाले जनाएको छ । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा ७ महादेवस्थान वडा कार्यालयमा सात दिने तालिम गरिएको थियो । १२ जना विद्यार्थीसहित महिला उद्यमीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शनसमेत गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिकाका–७ का वडाध्यक्ष कमल गिरीका अनुसार तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गर्ने र खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनालाई वितरण गर्ने योजना छ । साथै आउँदा दिनमा रैथाने बाली कोदोको उत्पादन तथा मूल्यवृद्धि र स्थानीय उद्यमशीलतालाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।


