इटहरी । भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो । नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरूको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिए । यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताए । विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले वृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताए । रामप्रसाद राई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरूले कफीखेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडौँ हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताए ।  अर्गानिक जैविक कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी संकलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए । कफीले बाह्य बजारमा राम्रो मूल्य पाउन थालेपछी यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।