इटहरी । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताउनुभयो । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको उहाँ बताउनुहुन्छ । वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उहाँ भनाइ छ । यहाँको भङ्गेरी तथा पालुवा सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उहाँको भनाइ छ ।
सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरणलगायत काम गरिरहेको उहाँले जानकारी दिनुभयो । भोजपुर –६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताउनुभयो । यहाँ देखिएका कृषिक्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ । खेती प्रणालीका लागि मुख्य रूपमा सिँचाइको समस्या रहेकाले वडाले कुलो, प्लाष्टिक पोखरी निर्माण तथा किसानका आवश्यकताका आधारमा पाइप वितरण गर्दै आएको उहाँले बताउनुभयो । मेहनत गरे यहाँ नै किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उहाँले बताउनुभयो ।


