इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ र सङ्कटापन्न प्रजातिको मलाहा बिरालो ९फिसिङ क्याट० को संरक्षणका लागि पहल गरिने भएको छ । कोशीटप्पुमा आयोजित मलाहा बिरालोको संरक्षण तथा वर्तमान अवस्थाबारे छलफल कार्यक्रममा सरोकारवालाले यसको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । स्थानीय समाजसेवी, संरक्षणकर्मी, अनुसन्धानकर्ता तथा विभिन्न सरोकारवाला निकायको सहभागिता आयोजित कार्यक्रममा मलाहा बिरालोको संरक्षणप्रति समुदायमा थप चेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले जनाएका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष (कोशी प्रदेश) तथा फिसिङ क्याट कन्जर्भेसन एलायन्सको सहकार्यमा आयोजित कार्यक्रममा आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले मलाहा बिरालोको संरक्षणप्रति समुदायमा थप चेतना फैलिएको बताउनुभयो । नेपालको तराई क्षेत्रमा पाइने यो दुर्लभ बिरालो प्रजातिको हो, जसलाई स्थानीय भाषामा ‘मलाहा बिरालो’ भनिन्छ । विशेष गरी सिमसार, नदी किनार तथा दलदलीय क्षेत्रमा बसोबास गर्ने यो जनावर माछा खान निकै दक्ष हुन्छ । तर सिमसार क्षेत्रको विनाश, माछाको सङ्ख्या घट्नु, तथा मानवद्वारा निर्मित माछा पोखरीमा राखिएका कुकुरले मलाहा बिरालोलाई खतरामा पारेका छन् । मिश्रका अनुसार, यस्तो अवस्थाले मलाहा बिरालोको सङ्ख्या दिन प्रतिदिन घटिरहेको छ । नेपालमा हालसम्म मलाहा बिरालोको विस्तृत वैज्ञानिक सर्वेक्षण वा जनगणना सम्पन्न भएको छैन तर प्रारम्भिक अनुमान अनुसार देशभर पाँच सय वटासम्म मलाहा बिरालो रहेको अनुमान गरिएको छ ।
नेपालमा सुनसरीदेखि कञ्चनपुरसम्म यसको उपस्थितिको अभिलेख छ, भने संरक्षित क्षेत्रमध्ये कोशी टप्पु वन्यजन्तु आरक्षमा २०, चितवनमा नौदेखि २५ वटासम्म सुक्लाफाँटम नौ वटासम्म भएको तथ्याङ्क रहेको छ । त्यस्तै पर्सा र बर्दिया राष्ट्रिय निकुञ्जमा यसको उपस्थिति रहेको छ । यसका अतिरिक्त, बारा, कपिलवस्तु र सुनसरीका माछा पोखरी क्षेत्रमा पनि मलाहा बिरालोको उपस्थिति देखिएको छ । नेपालका लागि यो प्रजातिको पारिस्थितिक महìवसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवाला निकाय एकमत छन् । मलाहा बिरालो नेपालबाहेक भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया, थाइल्यान्ड र म्यानमारसहितका देशमा पाइने बताइएको छ ।


