इटहरी । तीव्र गतिका कारण बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न धनकुटामा सार्वजनिक सवारी साधन टाइम कार्ड प्रणाली सुरु गरिएको छ । कोशी पहाडमै पहिलो पटक सार्वजनिक यातायतमा टाईम कार्ड सुरू गरिएको हो । पछिल्लो समय सवारी  साधन बढेसगै दुर्घटना बढेको भन्दै प्रहरीले टाईम कार्ड लागु गरेको हो। धनकुटा नगरपालिकाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी  कार्यालय धनकुटाको समन्वयमा टाईम कार्ड सुरू गरिएको प्रहरी उपरिक्षक सरद कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । यस्तै सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले एक कार्यक्रमका बिच टाईम कार्डको सुरूवात गर्नुभएको छ । टाईम कार्डले सवारी दुर्घटनाको न्युनीकरण सँगै सडक अनुशासन कायम हुने हुदा यो अभियान प्रभावकारी हुने राईले बताउनुभयो । धनकुटाको भेडेटार,मुलघाट,धनकुटा बजार,हिलेबजार,सिधुवाबजार,पाख्रीवास बजार तथा लेगुवाबजार लगायतका स्थानमा टाईम कार्ड लागु गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । पछिल्लो समय विशेष गरी विद्युतीय माइक्रोबसहरूमा देखिएको दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड प्रणाली प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनु भयो । उहाँले यो कार्यक्रम केवल सुरु मात्र नभई निरन्तर अनुगमन र मूल्याङ्कन सहित कार्यान्वयन गरिने बताउनु भयो । लागु गरिएको टाइम कार्ड अनुसार भेडेटार–मुलघाट(१७ किमी)लाई ४० मिनेट, मुलघाट–धनकुटा (१८ किमी)लाई ४० मिनेट, धनकुटा–हिले (१३ किमी)लाई ३० मिनेट, हिले–लेगुवा (२६ किमी)लाई ५५ मिनेट र हिले–सिधुवा (१२ किमी)लाई २५ मिनेटको समय लागु गरिएको छ । कोशी प्रदेशको पहाडी भेगमा पहिलो पटक टाइम कार्ड प्रणाली धनकुटामा लागु गरिएको हो । गत जेठ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले टायम कार्ड लगाउने निर्णय गरेको थियो ।