इटहरी । मोरङको सुन्दरहरैंचा वडा नम्बर – ३ मा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सुरु भएको छ । महिला अधिकारका लागि राष्ट्रिय अभियान संस्थाको आयोजनामा शुरु भएको तीन दिने क्षमता अभिवृद्धि तालिमको वडा सदस्य निलम अधिकारीले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले महिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि बोल्न सक्ने क्षमताको विकास आवश्यक रहेको बताउनुभयो । साथै महिलाहरुमा नेतृत्व गर्ने क्षमता आवश्यक रहेको भन्दै तालिम आयोजना गरिएकोमा खुसी लागेको बताउनुभयो । त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले महिलाहरुमा आएको जागरणले आफूलाई खुसी लागेको बताउँदै अझ आवश्यक कामहरु गर्न कटिबद्ध हुनुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा संस्थाकी अध्यक्ष रिता दाहालले आमूल परिवर्तनको लागि महिलाहरुले वुलन्द आवाज उठाउँदै नेतृत्व गर्ने ठाउँमा पुग्नु पर्ने र त्यसको लागि एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक समाजका अध्यक्ष भीम बहादुर कार्की, लायन्स क्लब गछियाका अध्यक्ष कमल दाहाल लगायतको उपस्थिति रहेको थियो ।