इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन भएको छ ।
चार दिनसम्म सञ्चालन भएको उक्त तालिम वडा नं. ७ स्थित एस.ओ.एस वालग्राम सभाहलमा भएको थियो। तालिमको अध्यक्षता प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्ध निर्देशक बिकल पौडेलले गर्नुभएको थियो।
तालिममा प्रमुख प्रशिक्षक सन्तोष धमला र सह-प्रशिक्षक सीमा बस्नेतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा ३० जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। समापन समारोहका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।
तालिममा सहभागी मुक्त नारायण श्रेष्ठले उद्घोषण तथा प्रभावकारी सञ्चार सीप र नेतृत्व क्षमता अभिवृद्धिमा तालिम उपयोगी रहेको प्रतिक्रिया दिनुभयो। उहाँका अनुसार सिकेका सीपहरू समाजमा प्रयोग गर्न सकिनेछ।
वडा सदस्य दीपक घिमिरेले तालिमले युवाहरूमा नेतृत्व क्षमता विकास गर्न र उद्घोषण तथा सञ्चारमा दक्षता बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरूमा पनि यस्ता तालिम निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं. ७ का वडा सदस्यहरू राधा आचार्य, नेत्रप्रसाद गुरागाईं, वडा सचिव सुरेश कार्की, परिवर्तन एक अभियानका अध्यक्ष तेजप्रसाद घिमिरे ‘निश्चल’ लगायत विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि., सुन्दरहरैंचा मोरङले विभिन्न स्थानहरूमा नेतृत्व क्षमता अभिवृद्धि तथा उद्घोषण र सञ्चार सीप विकासका तालिमहरू सञ्चालन गर्दै आइरहेको छ।


