इटहरी । करिब एक दशकअघिदेखि साङ्लोमा बाँधिँदै आउनुभएका पविन्द्र मगरको शनिबार उद्धार गरिएको छ । चौदण्डीगढी नगरपालिकाको पहलमा विराटनगरस्थित मानवसेवा आश्रमले उहाँको उद्धार गरेको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका–३, भोर्लेनीका पविन्द्र मगर करिब १० वर्षअघि बिरामी परेपछि उहाँको मानसिक अवस्था बिग्रियो । परिवारले सक्दो उपचार गर्दा पनि केही सुधार नभएपछि उहाँलाई घरमै साङ्गोले बाँधेर राख्ने गरेको उहाँकी ८१ वर्षीय आमा एकमाया मगरले बताउनुभयो । चार दाजुभाइमध्येका साइँला छोरा पविन्द्रको हेरचाह बुढी आमा एकमाया मगरले गर्दै आउनुभएको थियो ।
यसअघि पनि चौदण्डीगढी नगरपालिकाले वडा नम्बर २ मा करिब नौ वर्षदेखि खोरमा बन्दक रहेका शिवराज विश्वकर्माकोे उद्धार गरी उपचार गराएको थियो । उहाँँ अहिले सामान्य जीवनयापन गरिरहनुभएको नगरप्रमुख लामाले भन्नुभयो । केही समयको उपचारपछि पविन्द्रको जीवनमा परिवर्तन हुने विश्वास मानवसेवा आश्रम विराटनगरका नवराज केसीले व्यक्त गर्नुभयो ।


