इटहरी । नेपालको चारकोशे झाडीको रुपमा परिचित झापाको जलथलस्थित चारकोशे वनमा पहेँलो कुछुवा फेला परेको छ । हल्दिबारी गाउँपालिका–४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वनमा पहेँलो कछुवा फेला परेको हो । स्थानीय विवेक बास्तोलाले आइतबार विहान सामुदायिक वनमा रहेको चिसो पानी रसाइरहने क्षेत्रमा अनौठो प्रकारको उक्त कछुवा फेला पारेर सामुदायिक वनका कर्मचारीहरुलाई खबर गर्नुभएको थियो । अन्य समयमा देखेको भन्दा फरक कछुवा देखिपछि सामुदायिक वनका पदाधिकारीहरुलाई जानकारी गराउनुभएको जनाइएको छ ।
जलथल जङ्गलको विषयमा अध्यनअनुसन्धानमा लामो समयदेखि क्रियाशिल रहनु भएको लिलनाथ शर्माका अनुसार यो कछुवा विरलैमात्र पाइन्छ । रङ्गिनकण उत्पादन गर्ने आनुवंशिक तत्वमा हुने फेरबदल तथा उत्परिवर्तनले कछुवामा यस्तो अवस्था आउने उहाँले बताउनुभएको छ । कछुवाको जाति दुर्लभ नभएपनि यो प्रजातिमा यस्तो अवस्था चाहीँ निकै दुर्लभ हुने उहाँको भनाइ रहेको छ । नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोजअध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार यो कछुवालाई स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल भनेर चिनिन्छ ।यो झापामा पहिलो पटक अभिलेख हुनसक्ने उहाँले बताउनु भएको छ ।


